कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त घाइते

एजेन्सी । भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५ः३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार माध्यमले खबर लेखेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए । रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको स्रोतले बताएको छ ।

चिकित्सकले एमआरई गरेपछि मात्रै उनको घुँडाको कुन हड्डी भाँचिएको हो थाहा हुने बताएका छन् । उनीहरूले पन्तको शल्यक्रिया गर्नुपर्ने पनि बताएका छन् ।