काठमाडौं । तत्कालीन पाँचदलीय गठबन्धन टुटेर माओवादी र एमाले मिलेपछि ‘यता न उता’ को अवस्थामा पुगेको एकीकृत समाजवादीभित्र सरकारमा सहभागिताको विषयलाई लिएर तीव्र बहस भइरहेको छ । एमालेसहित ७ दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि दुबैतिरबाट एक्लिएको समाजवादीका अधिकांश नेता सरकारमा जान नहुने पक्षमा देखिएका छन् ।
यसै विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक विना निष्कर्ष टुंगिएको छ । अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकमा पुगेको छ । दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताले सरकारमा जान नहुने धारणा राखेका थिए । कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले त सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राख्नुभएको थियो । बैठकमा लिखित धारणा राख्नुभएका खनालले पार्टी निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।



















