नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले व्यक्तिगत रूपमा आफू प्रधानमन्त्री पुष्पकमल दाहालप्रति सकारात्मक रहेको धारणा राखेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकका एजेन्डा तय गर्न शुक्रबार बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूले जिज्ञासा राख्ने क्रममा उनले प्रचण्डप्रति आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै विश्वासको मतको विषयमा भने धेरै विश्लेषण गरेर मात्रै निर्णय लिनुपर्ने आवश्यकता रहेको बताए ।
‘विश्वासको मतको बारेमा हामीले जम्मै पक्षहरुको विषयमा विश्लेषण गर्नेछौं,’ उनले भने, ‘व्यक्तिगत रूपमा प्रचण्डजीप्रति मेरो पोजिटिभ नै धारणा छ । जहाँसम्म सरकार कुन ढंगले अगाडि बढ्छ, त्यो हेरिकन हामी टुंगो गर्छौं ।’
सरकार कुन ढंगले अगाडि बढ्छ त्यसलाई हेरेर मात्रै सरकारलाई विश्वासको मत दिनेबारेमा निर्णय लिन सकिने अध्यक्ष नेपालको भनाइ छ ।
यसैबीच अब एमालेसँग पार्टी एकता होला कि नहोला भनी पत्रकारकारहरुले राखेको जिज्ञासाप्रति अध्यक्ष नेपालले कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा जो इच्छुक हुन्छ सोही दलसँग एकता हुने बताए ।
‘कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, सुदृढ गर्ने अभियानमा त अगाडि बढिन्छ नै । अब यसमा जो जो इच्छुक हुनुहुन्छ, उहाँहरुसँग हामी हातेमालो गर्छौं,’ उनले भने ।



















