काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्ने भएको छ । आईतबार बिहान ११ बजे पार्टी कार्यलय सुविधानगर तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने नेसपाका सहअध्यक्ष गंगामारायण श्रेष्ठले बताए ।
वाम दलहरुबीच एकता भईरहेका वेला नेसपाले वार्ता टोली गठन गर्न लागेको हो ।
गत मंसिर ४ को निर्वाचनमा नेसपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लडेको थियो । त्यसअघि नै माओवादी अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको थियो ।
प्रचण्ड र बाबुरामबीच शनिबार पनि छलफल भएको थियो । लगत्तै बसेको नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले समाजवादी धारको नेतृत्व गर्ने गरी विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने जानकारी दिए । साथै सम्वादको लागि सम्वाद समिति पनि गठन गर्ने उनले बताए ।
पछिल्लो समय वाम(समाजवादी दलहरुबीच पार्टी एकताको पहल हुँदै आएको छ । त्यसका लागि दलहरुले वार्ता टोली गठन गर्दै आएका छन् ।
वार्ता टोलीमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् । कार्यदलले सबै वाम दलहरुबीच एकताको पहल गर्ने उपमहासचिव शर्माले बताए ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पनि महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उपमहासचिवत्रय प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा.विजय पौडेल छन् ।
नेताहरुका अनुसार विचार मिल्ने दलहरुबीच पार्टी एकता, नभए कार्यगत एकताका लागि पहल भइरहेको छ ।



















