नयाँ भन्दै पुराना ल्यापटप बिक्री गर्न थालेपछि भन्सार जाँचपासमा कडाई

नयाँ भन्दै पुराना ल्यापटप आयात गरेको शंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले केही कम्पनीहरूले आयात गरेका ल्यापटपको जाँचपास रोकेको छ।

भन्सार स्रोतका अनुसार पकिजा कम्प्युटर होम, एसआरपीसी टेक एन्ड टोगरी प्रालि, ललितपुर लगायत केही कम्पनीले दुबईबाट नयाँ भनी आयात गरेका ल्यापटप पुरानो भएको शंकामा ती ल्यापटपको जाँचपास रोकेको हो।

‘एक पटकमा एक सय थान ल्यापटप आयात गर्दा त्यसमा कम्तिमा पनि २५(३० वटा ल्यापटपको गुणस्तरमा शंका गर्नुपर्ने स्थिति देखियो,’ भन्सार कार्यालय स्रोत भन्छन, ‘त्यसैले अहिले केही कम्पनीहरूले आयात गर्न चाहेको ल्यापटप जाँचपासमा रोक लगाएका हौं।’

आयातकर्ताले पुराना ल्यापटपलाई नयाँ जस्तै देखाएर राम्रोसँग प्याकेजिङ गर्दै नेपाल भित्र्याइने पाइएको छ। भन्सार विभागको उद्देश्य राजस्व संकलन गर्ने मात्र नभएर उपभोक्ताहरू नठगिउन् भन्ने समेत हुँदा विभागले जाँचपासमा कडाई गरेको विभागका अधिकारीहरू बताउँछन्।

‘भन्सार उठाउन कै लागि मात्र बसेका होइनौं। हाम्रो चासो उपभोक्ताले आयातितमा कस्तो वस्तु पाइरहेका छन् भन्नेमा पनि रहेको छ,’ ती अधिकारीले भने, ‘बजार प्रवेश पछि कुन सामग्री कतिमा र कसरी खरिद(बिक्री भइरहेको छ भन्ने भन्सार विभागले नियमन गर्ने होइन। तर विमानस्थलबाट जाँचपास समय नै गुणस्तरीय सामग्रीलाई मात्र प्रवेश गर्न दिन सकिन्छ।’