श्रीमानले आगो लगाएर जलाइएकी गंगाको अवस्था स्थिर, तर मृतक छोरा सम्झेर रुन्छिन्

श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते भएकी बाँके कोहलपुर नगरपालिका–२ की गंगा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उनको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.बद्री चापागाईंले बताए।

घाँटी वरिपरी पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छु, डा चापागाईंले भने, ुउहाँको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रुपमा तनावमा हुनुहुन्छ ।

कोहलपुर नगरपालिका २ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गंगा र छोरालाई आगो लगाउँदा घाइते भएका थिए । उपचारका क्रममा छोराको मृत्यु भएको थियो ।

‘बरु मलाई मात्रै आगो लगाइदिएको भए हुन्थ्यो, मैले छोरालाई बचाउन सकिनँ’, अस्पतालको शय्याबाट विकले भनिन्। कोठा थुनेर आफूलाई धेरै कुटपिट गरेपछि माइत जान हिँडेकी आफू र छोरालाई श्रीमानलाई पछाडिबाट पेट्रोल छ्यापेर आगो लगाइदिएको उनको भनाइ छ ।