मेसीको उत्कृष्ट प्रदर्शनमा पिएसजी सहज जित

लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानको शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ।

केलियन एम्बाप्पले घाइते भएको खेलमा गएराति पिएसजीले मोन्टपेलियरलाई ३–१ अन्तरले हरायो।

पिएसजीको जितमा फाबियन रूइज, लियोनल मेसी र वारन जाइर इम्रीले एक एक गोल गरेका थिए। मोन्टपिलियरका लागि अर्नाउड नोभिनले गोल गरेका थिए।

गएराति फ्रेन्च खेलाडी एम्बाप्पेका लागि विर्सनलायक साँझ रह्यो। खेलको सुरूवातमै दुई पेनाल्टी मिस गरेका एम्बाप्पे चोट बोकेर २१ औं मिनेटमै मैदानबाट बाहिरिनु पर्‍यो।

खेलको १० औं मिनेटमा पिएसजीले पेनाल्टी पायो। एम्बाप्पेको प्रहार मोन्टपेलियरका किपरले बचाए। त्यसपछि पुनः पाएको पेनाल्टी पोस्टमा लागेर फर्कियो। त्यसलाई पनि एम्बाप्पेले पोष्टको दिशा दिन सकेनन्।

त्यसपछि खेलको २१ औं मिनेटमा चोट बोक्दै एम्बाप्पे बाहिरिएका थिए। उनको चोटसँगै प्रशिक्षक क्रिस्टोफर गाल्टियरलाई टाउको दुखाइको विषय बनेको छ। पिएसजीले अर्को साता बायर्न म्युनिखसँग च्याम्पियन लिग खेल्नेछ।

खेलको ३६ औं मिनेटमा मेसीले गरेको गोललाई भिएआरले मान्यता नदिँदा पिएसजीले पहिलो हाफ बराबरीमै सकायो।

त्यसपछि दोस्रो हाफको ५३औं मिनेटमा अचराफ हाकिमीले गरेको अर्को गोल पनि भिएआरले मान्यता दिएन।

तर ५५ औं मिनेटमा फावियनले पिएसजीलाई अग्रता दिलाए। फावियनकै पासमा मेसीले ७२ औं मिनेटमा खेलमा अग्रता दोब्बर पारे। खेलको ८९ औं मिनेटमा अर्नौंड नोर्दिनले गोल गर्दै अग्रता २–१ मा झारे। तर खेलको इन्जुरी समयमा १६ वर्षीय एम्रीले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए।

यो जितपछि पिएसजीले २१ खेलमा १६ जित, तीन बराबर र दुई हारसँगै ५१ अंक जोडेर शीर्षस्थानमा छ।

समान खेलबाट दोस्रो स्थानमा रहेको मार्सेलीको ४६ अंक छ। पराजित मोन्टपेलियर २० अंक सहित १४औं स्थानमा छ।