काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।
अहिले यी दुई नेताबीच वर्तमान समसामयिक रानीतिक घटनाक्रम लगायत विविध विषयमा छलफल भइरहेको बालकोट स्रोतले जनाएको छ ।
सत्तारुढ दलभित्र राष्ट्रपतिको विषय पेचिलो बन्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट बाक्लो भइरहेको छ ।
सरकार गठनताका भएको सहमतिअनुसार राष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने एमालेको अडान छ भने प्रधानमन्त्री राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने बताउँदै आएका छन् ।
साथै प्रधानमन्त्री प्रचण्डकै सहमतिमा कांग्रेसबाट राष्ट्रपति बनाउन लागेको चर्चाले सत्तारुढ घटक माओवादी केन्द्र र एमालेबीच चिसोपना बढाइरहेको छ ।
यही चिसोपना मेटाउन केही हप्तायता प्रचण्ड र ओली दैनिकजसो भेट वार्ता गर्ने गरेका छन् ।






















