एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने

काठमाडौं । समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको नेकपा (एमाले)का मन्त्रीहरुले अहिले केहीबेरमा मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् ।

आजै राजीनामा बुझाउने तयारी गरेको पार्टी उपमहासचिव एवं उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । राष्ट्रपतिमा पुस १० को सहमति प्रधानमन्त्रीले कार्यान्वयन नगरेको भन्दै असन्तुष्ट एमालेले सरकार छाडेको हो ।

राष्ट्रपतिको निर्वाचनलाई लिएर नेकपा (माओवादी केन्द्र) ले समिकरण बदलेपछि एमालेले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । आज बसेको सचिवालय बैठकले एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए । प्रधानमन्त्री दाहालले भने अब विश्वासको मत लिनुपर्ने भएको छ । हिजोमात्रै राप्रपापनि सरकारबाट बाहिरिएको हो ।

यसअघि नै रास्वपा सरकारबाट बाहिरिएको थियो । राप्रपाले पनि आजै समर्थन फिर्ता लिने निर्णय गर्दैछ । रास्वपाको पनि समर्थन कायमै छ । अहिले जारी बैठकले समर्थन फिर्ता लिनसक्ने रास्वपाका नेताहरुको दाबी छ । प्रधानमन्त्री दाहालले संसद्मा ९९ प्रतिशत विश्वासको मत पाएका थिए ।

एमाले, राप्रपाले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले छिट्टै विश्वासको मत लिने तयारी गरेका छन् । यसको लागि उनले आजै कांग्रेस, जसपा र नेकपा (एकीकृत समाजवादी) को नेताहरुसँग छलफल गर्ने बुझिएको छ ।