अर्थविद् डा.स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी दिएका हुन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएका हुन् ।
कांग्रेसप्रति अपार सद्भावका बाबजुद देउवा(आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको वाग्लेको पत्रमा उल्लेख छ । कांग्रेसको नेतृत्वमा देउवा बाहेकका नेता पुगेको दिन पुनः सहकार्य हुने उनको भनाइ छ । ‘काँग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ ,’ उनको पत्रमा भनिएको छ, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
डा.वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको बताएका छन् ।
****नेपाली काँग्रेसबाट अलग भएको घोषणा****
वि. स. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु।
त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ। तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ।
अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।