प्रधानमन्त्री दाहाल र भारतीय समकक्षीबीच भेटवार्ता, महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडाैं ।  भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र माेदीबीच आज भेटवार्ता हुने भएकाे छ । आज (बिहीबार) माेदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएकाे छ ।

त्यसभन्दा अघि दाहाल  महात्मा गान्धीकोे समाधिस्थल राजघाट जानुभई पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसलगत्तै भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । हैदरावाद हाउसमा प्रधानमन्त्रीले भारतीय समकक्षीसँग भेटवार्ता गर्ने र लगत्तै प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

केही महत्त्वपूर्ण विषयमा सहमति हुने र केही समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । ऊर्जा व्यापार, वाणिज्य, व्यापार तथा आपसीहितका विविध विषयमा छलफल गर्ने गरी कार्यसूची तय भएको छ ।

प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले दिवा भोजको आयोजना गर्नुभएको छ । त्यसपछि प्रधानमन्त्री दाहालको भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने अन्तक्र्रियालाई बिहीबार नै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।