काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १८ जनालाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
प्रकरणमा पक्राउ परेका सबैआरोपीहरुलाई थुनछेक बहसका लागि प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए ।
नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न भएका आरोपमा पक्राउ परेकाहरुसँगको बयान शुक्रबार सकिएको थियो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सकिएपछि उनीहरुलाई पुर्पक्षमा पठाउने कि नपठाउने भन्नेबारे निर्णय हुनेछ ।
बयानको सबै फाइल शुक्रबार अवेरमात्रै पाएकाले अध्ययन गर्न समय चाहिने भन्दै जाहेरीकर्ताका कानून व्यवसायी र सरकारी वकिलले केही समय माग्ने तयारी पनि गरेका छन् । इजलासले अनुमती दिएको अवस्था बाहेक आजदेखि नै थुनछेक बहस सुरु हुनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।




















