अनुदानकाे ५२ बाेरा मल बिक्री, प्रशासनद्वार जफत

इलाम । सरकारले अनुदानमा दिएको मल इलामको एक सहकारीले बिचौलियालाई बेचेको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय इलामले जफत गरेको छ । अनुदानमा आएको मल इलाम नगरपालिका एक नेपालटामा रहेको सूर्यज्योति कृषि सहकारीले इलाम सदरमुकाममा रहेको कृषि बिज भण्डारलाई बेचेको पुष्टि भएपछि जफत गरेको हो ।

जफत गरिएको मल इलाम नगरपालिकालाई बुझाएको छ । अनुदानको मल इजाजत बिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महंगो मुल्यमा विक्रि गरेको पाइएको छ । कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता रहेको छ । सो पसललाई दुई लाख जरिमाना समेत गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

उहाँले जफत गरिएको मल इलाम नगरपालिकालाई जिम्मा लगाइसकिएको छ । किसानलाई वितरण गर्ने गरी सो मल नगरपालिकालाई दिइएको उहाँको भनाइ छ । अनुमगनका क्रममा जिल्ला प्रशासन कार्यालय इलामे नेतृत्वको टोलीले बुधबार सो पसलको गोदाममा सिल गरेको थियो ।

सरकारी अनुदान प्राप्त ३४ बोरा युरिया, १८ बोरा डिएपी गरी जम्मा ५२ बोरा मल इलाम नगरपालिकाले जिम्मा लिएर इलामको गौतमबुद्ध सभागृह सिटीहलमा राखिएको इलाम नगरपालिकाका कृषि शाखा प्रमुख उपेन्द्र नेपालले बताउनुभयो ।

इलामका पालिकाहरुलाई कोटा निर्धारण गरेर कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले रासायनिक मल उपलब्ध गराउँदै आएको छ । सोही मलमा सहकारी र बिचौलियाको मिलेमतोमा यसरी कारोबार हुँदै आएको छ ।