जता दयाहाङ, उतै मिरुना

काठमाडौं । फिल्म निर्माताहरूबीच यतिबेला अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई आफ्नो फिल्ममा जोडी बनाउने होड चल्दै आइरहेको छ ।

दयाहाङ र मिरुनाले पहिलो पटक ‘कबड्डी ४’मा जोडीका रुपमा देखिएका थिए । त्यस पछि ‘जारी’ मा उनीहरू पुनः जोडीका रुपमा देखिए ।
फिल्म ’जारी’को सफलताले त दयाहाङ र मिरुनालाई बजारमा खोजिने जोडी बनायो ।
यसो हुनुको पछाडि उनीहरू अभिनीत ‘कबड्डी ४’ र ‘जारी’को सफलतालाई मुख्य कारक ठानिएको हो । ‘जारी’ पछि यो जोडी ‘नांगो गाउँ’मा देखिएका थिए ।
यो फिल्म पनि बक्स अफिसमा हिट भएपछि दया र मिरुनालाई फिल्मको ओइरो लागेको छ ।

हालको समयमा नेपालको घरेलु बक्स अफिसमा उनीहरूको जोडी बिकाउ बनिरहेको छ । उनीहरूमाथि पैसा हाल्न ओभरसिज र नेपालका वितरक र डिजिटल खरिदकर्ताहरु सजिलै तयार भइरहेका छन् ।

अहिले बजारमा नाम सार्वजनिक भएको कम्तीमा आधा दर्जन फिल्ममा दया र मिरुनाले सँगै काम गर्दैछन् ।

दयाका हालसम्म १९ वटा फिल्म पाइपलाइनमा छन् । जसमध्ये, केही फिल्म रिलिजका लागि तयार छन् भने अधिकांशको त छायांकन नै सुरु भएको छैन । त्यही कारण आउँदो दुई वर्षसम्म दया प्याक छन् । यही अवस्था मिरुनाकोे हातमा पनि आधा दर्जन फिल्म छन् ।
जसमध्ये, ५ वटामा दयाहाङ राई नै उनको साथमा छन् ।
दया र मिरुना फागुन २६ मा प्रदर्शन हुने फिल्म ‘रंगेली’ बाट जोडीकै रुपमा पर्दामा देखिँदैछन् । यसपछि भने दया र मिरुना ‘मनसरा’ मा सँगै देखिँदै छन् । यो फिल्मको बाँकी रहेको केही प्रतिशत सुटिङ माघदेखि सुरु हुने भएको छ ।

मनसरापछि दुवैले ‘घर ज्वाइँ’का लागि समय दिँदैछन् । यस्तै, अर्को फिल्म ‘लोकल हिरो’ मा पनि सँगै देखा पर्दैछन् । तर यो फिल्म कहिले फ्लोरमा निस्कने छ टुंगो छैन ।

यसै बीच यी दुवै ‘गाउँ नै रमाइलो’मा काम गर्दैछन् । यो फिल्म मिरुनाले हालै मात्र साइन गरेकी हुन् । यसरी हेर्दा, दया भएको फिल्ममा मिरुना पनि हुनैपर्छ भन्ने सोच मेकरमा हाबी भएको देखिन्छ ।

तर, यो फिल्म बनाउनेहरूका लागि खतराको संकेत हो । भोलि यी दुईले काम गरेको कुनै एक फिल्म चिप्लियो भने, बाँकी फिल्मले पनि दर्शकको साथ नपाउने संभावना उच्च हुन्छ ।