६० कटेका चलचित्र पत्रकारलाई मासिक ६ हजार सामाजिक सुरक्षा भत्ता दिइने

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका संघका सदस्यलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।

अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म ६० वर्ष उमेर पुगेका वा त्योभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार संघका सदस्यलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता बापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

‘यसले विधागत रुपमा पत्रकारिता गरिरहेकालाई ऊर्जा मिल्ने विश्वास लिएका छौं । विधागत पत्रकारितामा उहाँले दिनुभएको योगदानको कदर संघले गरेको हो । हामीले कल्याणकारी कोषमार्फत संघका सदस्यहरूको समस्यालाई न्यूनीकरण गर्ने लक्ष्य लिएका छौं,’ अध्यक्ष सिटौलाले भने । यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नवीकरण शुल्क मिनाहा गरिने समेत उनले जानकारी दिए ।

साथै, बैठकले माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरेको छ । साथै चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ ।

अधिवेशन प्रायोजनका लागि संघका सदस्यले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफैं उपस्थित भई सदस्यता नवीकरण गर्नुपर्ने निर्णय समेत गरेको छ । साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ ।