टर्की र सिरियामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या १५ हजार पुग्यो

काठमाडौं । गत सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार पुगेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार भूकम्पमा परी टर्कीमा करिब १३ हजार जना र सिरियामा करिब दुई हजार जनाको मृत्यु भएको हो ।

उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ । भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ ।

नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ ।