सधै माया र आशिर्वादको वर्षातमा भिज्न पाइरहुँ आमा !

राधिका ढकाल
कति भारी अनि प्यारो छ है यो आमा भन्ने शब्द, सम्झनुस् त एक पटक सानो हुदा लुटुपुटु भएको ती काख । ती अमुल्य प्रेम निस्वार्थ माया । शरीरमा चोट लाग्दा, बिरामी पर्दा ठेस लाग्दा होस् वा नराम्रो सपनाबाट बिउँझिदा सबैभन्दा पहिला सम्झिने नाम “आमा” ।

खुला आकाश मुनि धर्तीको एउटा कुनामा कयौ कष्ट झेलेर बिना अस्पताल,बिना औषधी, कयौँ आमाहरुले कयौ सन्तानको जन्म दिए होलान्। ती मध्ये कि म पनि एक सन्तान हुँ । जब म जन्मेकी थिए तब मेरी आमाको एक टुत्रा नयाँ कपडा नि थिएन रे । अनि आफ्नै फरियाको फेर च्यातेर मलाई टोपी भोटो बनाउनु हुन्थ्यो रे ! मामाघर को हजुरआमाले भन्नू भएको ।

मलाई याद छ ती दिन आमा अझैपनी ! मलाइ सामान्य ज्वरो आउदा पनि तिम्रा आँखा बाट बर्खेभेल जस्तै गरि खसेका आशुहरु …
भलई तिमीसङ महल थिएन तर तिम्रो त्यो न्यानो काख कुनै महल भन्दा कम पनि भएनन् । तिम्रो हात को सिरानी अनि गगनरुपी चुम्बन थमथमाउदै कतिबेर तिम्रो काखमा लुटुपुटु गर्दै निदाउथे पत्तो पाइन कुनै दिन ।

तिम्रो काखलाई जानेर नजानेर कति चोटि चर्पी बनाएर फोहोर पारिदिए, कहिल्यै झर्को मानिनौं । कस्तो सौभाग्य लिएर आएकी रहेछु तिमी जस्तो आमा पाएकि छु । बाबा परदेश हुदा घरमा दिनहुुँ जस्तो खड्किएको अभाव, दिनभरीको मेलापात गएर बेलुका तिम्रो पोल्टाको खाजामा भाइको मेरो सधैं झगडा पर्थो ।मीठो मसिनो खान दिन न सकेपनी भोको कहिल्यै राखिनौं । तिमीसग अगिन्ती पीडा हुन्थे तर पनि हामीसग कुनै दिन पोखिनांै । आफू भोको हुँदा टन्न अघाएको अभाष गराउथ्यौं ।

तिमी आफै शिक्षाबाट टाढा थियौ तर म र भाइलाई सधै स्कुल पठायौ । स्कुले, किताबी ज्ञानभन्दा धेरै जिन्दगीले सिकाउने पाठको प्रतिनिधि पात्र तिमीले असल संस्कार सिकाउनबाट कहिल्यै पछि परिनौं । थाहा छ मलाई, म रोएको, दुःखी भएको बेला तिमी अथाह पिडामा मैले नदेख्ने गरि रुने तिमी नै हौं मेरी आमा ।

उमेर बढ्दै गयो दुःख कष्ट र विगतका अभावहरूले चाहुरिँदै गयौ होला । तर पनि सन्तानको चिन्ता गर्न नछोड्ने तिमी नै त हो नी मेरी आमा । भौतिक शरीर तिमीबाट टाढा छ तर पनि यो मन खै किन तिम्रो काखमा काखमा लुटुपुटु हुन खोजिरहन्छ । तिमीसँगै हुन मन गरिरहन खोज्छ ।

फेरि ढिलो छिटो को कुरा मात्रै हो सबै सन्तानहरु आमा–बा बनिहाल्छन । तर पनि तिम्रो हात मेरो शिरमा भएको दिनसम्म मलाई आफू आमा भएको कहिल्यै मसहुस भएको छैन । अथाह प्रेमकी धनी छौ आमा तिमी । सधै तिम्रो माया र आशिर्वादको वर्षातमा भिज्न पाइरहुँ।