काठमाडौं । ‘नाबालिग’ किशोरी बलात्कारका आरोपी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ ।
अदालत स्रोतले दिएको जानकारी अनुसार उक्त मुद्दाको पेशी पुनः आजका लागि तोकिएको छ । सन्दीपविरुद्ध मुद्दा हालेकी गौशाला–२६ को पक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मीले बहस गर्नेछिन् ।
सन्दीपविरुद्धको मुद्दाको पेशी गत भदौ १० गते आइतवारका लागि तोकिएको थियो । सोही दिन अन्तिम फैसला हुने भनिएको थियो, तर हुन सकेन ।
त्यसपछि सन्दीप एसिया कप खेल्नका लागि पाकिस्तान उडेका थिए । पाकिस्तान र श्रीलंकामा एसिया कप खेलेर उनी बुधवार स्वदेश फर्किएका छन् ।
१७ वर्षकी एक ‘नाबालिग’ किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उनीविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको छ ।




















