काठमाडौं । दाङमा आज बिहान भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् । वनभोजका लागि बर्दियाबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएको र त्यसमा पनि चार जनाको अवस्था गम्भीर रहेको स्राेतले जनाएको छ ।
दाङको अमिलिया–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो ।
गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
४० जना सवार बस बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै थियो।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ । बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
























