चार जना मन्त्री ‘मन्त्री क्वाटर’ नबस्ने, घरभाडा र मर्मत खर्च पनि नलिने

काठमाडौं । वर्तमान सरकारमा २५ मन्त्रीमध्ये चार जना सरकारले उपलब्ध गराउने निवासमा नबसी आफ्नै निवासमा बस्ने भएका छन् । उनीहरुले सरकारले उपलब्ध गराउने घरभाडा र मर्मत खर्च पनि नलिने बताएका छन् ।

सरकारी निवासमा नबसी आफ्नै निवासमा बस्ने मन्त्रीहरुमा कांग्रेसका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना छन् ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सरकारी निवास प्रयोग नगर्ने जानकारी गराएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ । यी चारमध्ये भण्डारी लोसपाबाट मन्त्री बनेका हुन् ।

उपप्रधानमन्त्री सिंह ठमेल चाक्सीबारी, उर्जामन्त्री खड्का बुढानीलकण्ठ, परराष्ट्रमन्त्री राणा बुढानीलकण्ठ र श्रममन्त्री भण्डारी भैंसेपाटीस्थित आफ्नै निजी निवासमा बस्ने जानकारी कार्यालयलाई गराएको सो कार्यालयले जनाएको छ ।

सरकारी निवास प्रयोग नगर्ने मन्त्रीलाई सरकारले घर भाडाबापत मासिक ४० हजार रूपैयाँ र निवास मर्मतका लागि छुट्टै सुविधा उपलब्ध गराउने व्यवस्था कानुनमा छ । तर, सरकारी निवास प्रयोग नगर्ने मन्त्रीहरूले सरकारले उपलब्ध गराउने घरभाडा र मर्मत खर्च प्रयोग नगर्ने पनि बताएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

अन्य मन्त्रीहरू भने भैंसेपाटीमा निर्माण भएको नयाँ सरकारी निवासमा सरिसकेका छन् । यसअघि मन्त्रीहरु पुल्चोकस्थित निवासमा बस्थे ।