काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फका सांसदको सूची बुझाउन दलहरुलाई तीन दिनको समय दिएको छ।
समानुपातिकबाट दलहरुले पाउने सांसद संख्या र क्लष्टर छुट्याएर नाम पठाउनका लागि आयोगले दलहरुलाई तीन दिनको समय दिएको हो । आयोगले दलहरुलाई पत्र पठाउने तयारी गरेको छ ।
तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका दलहरुले मात्रै समानुपातिक सांसद पाउने छन्। निर्वाचन आयोगका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले मात्रै तीन प्रतिशत मत कटाएका छन्।
प्रतिनिधिसभा समानुपातिकतर्फको ११० सिट अब सात दलमा समानुपातिक मतका आधारमा विभाजन हुनेछ। जसअनुसार नेकपा एमालेले ३३, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले १४र१४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५र५ सिट पाउने देखिएको छ। अन्तिम परिणाम आउँदा यो संख्यामा केही तलमाथि हुनसक्छ।
दलहरुले समानुपातिकतर्फका सांसदको नाम पठाइसकेपछि आयोगले प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्नेछ। मंसिर २७ गते राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले तयारी गरेको छ ।



















