बसको ठक्‍करबाट एक महिलाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु भएको छ ।

हेटौंडा–नारायणगढ सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका(९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।

उनका अनुसार, बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङजातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको रात्रि बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रस गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले ठक्‍कर दिएको थियो ।

बसको ठक्‍करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान ७: २० बजेको समयमा हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको छ ।   ।