मन्त्री बन्दिनँ, बाहिरै बसेर सरकारलाई सहयोग गर्छुः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री नबन्ने बताएका छन्।

आइतबार सञ्चारकर्मीहरुसँगको भेटमा उनले आफू यसपटक मन्त्री नबन्ने मनस्थितिमा रहेको बताए। पदमा पुगे मात्र मुलुक र जनताका पक्षमा काम गर्न सकिन्छ भन्ने भ्रमबाट आफू मुक्त रहेको उनको भनाइ थियो ।

पुनलाई वर्तमान सत्ता गठबन्धनको सूत्रधारमध्ये एक मानिन्छ । ४ मंसिरमा सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा पुनले दोस्रो तहका एमाले नेताहरूसँग वैकल्पिक सत्ता गठबन्धन निर्माणको छलफल अघि बढाएका थिए ।

चीनमा उपचार गराएर फर्किएलगत्तै पुन यो गठबन्धन निर्माणमा भित्रभित्रै सक्रिय भएका छन्। तर, आफैंले निर्माण गरेको गठबन्धनमा मन्त्री हुन्न भन्नुको कारणबारे पुनले यसपटक बाहिरै बसेर अध्यक्ष नेतृत्वको सरकारलाई सफल पार्न लागिपर्ने बताए।

पुनले आफू मर्यादाक्रम नमिलेर वा ‘हेबिवेट’ मन्त्रालय नपाएका कारण सरकारबाहिरै बस्न लागेको भन्ने भ्रममा नपर्न सम्वद्ध सबैलाई आग्रह गरे । पहिलोपटक मन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलोपटकमै उपप्रधानसहित गृहमन्त्री भएको विषयलाई कारण बनाउँदै पुन सरकारमा जान अनिच्छुक भएका समाचार आएका थिए ।

राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उहाँले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरे । आफ्ना अध्यक्षको नेतृत्वमा नयाँ सरकार बनेपछि जनमानसमा उत्साह आएको उनको दाबी थियो ।

फरक प्रसङ्गमा पुनले नेपालजस्तो संवेदनशील भूराजनीतिक अवस्थामा रहेको मुलुकले कूटनीतिक सम्बन्ध सञ्चालन गर्दा परिपक्वता र कुशलता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । सरकार र आफ्नो दलले दुई छिमेकी भारत र चीन तथा अमेरिकासहित सबै मित्र राष्ट्रसँग समानता र सहअस्तित्वका आधारमा बराबरीको सम्बन्ध राख्ने विषयलाई सधैं केन्द्रमा राख्ने उनको भनाइ थियो ।