काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाए । उनले अनुमति पाएको दिनदेखि नै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालिएको बताएको हो ।
सन्दीपले घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए ।
सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुनः पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।
क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए ।
‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छौँ । भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले भने ।
नेपालले अहिले यूएईमा पपुवा न्युगिनी (पीएनजी) र घरेलु टोली यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । आगामी खेलमा नेपालले युएईसँग खेल्नेछ । उक्त खेलमा सन्दिपले सहभागिता जनाउन पाउने नपाउनेबारे चर्चाका बीच सन्दिप विदेश जान पाउने भएका हुन् ।






















