प्रचण्डविरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । प्रचण्डविरूद्धको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ ।

सो रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो । सो दिन रिटमाथि सुनुवाइ नभएपछि आज (शुक्रबार) का लागि सारिएको थियो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए। आज सो रिटमाथि प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । १ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए ।

उनीहरुले ‘प्रचण्ड’ विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो । त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए ।