मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्छ : राष्ट्रपति पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा देखिएको निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगेका पौडेलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न लागि अहिले जनतामा देखिएका निराशालाई चिर्दै मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनुपर्ने बताएका हुन् ।

पौडेलले मुलुकले पटक पटकको प्रयोग धान्न नसक्ने र राष्ट्रलाई उन्नति गर्ने समय चाहिने भएकाले संविधानमा भएको अधिकारलाई सुरक्षित गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा राखे ।

अहिलेको व्यवस्थालाई चीर स्थायी बनाउँदै थप सुधारको आवश्यक भए गर्ने र जनताको सपनालाई साकार पार्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति पौडेलले बीपीले देशलाई नयाँ बाटो देखाएको र त्यसलाई अघि बढाउने काम आफूहरुको भएको जिकिर गरे ।

गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा रहेको बीपि संग्रहलाय पुगेर नवनिर्वाचित राष्ट्रपति पौडेलले बीपीको शालिकमा माल्यार्पण गरेका थिए ।