काठमाडाैं । सभामुख देवराज घिमिरेलेआज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्नुहुने भएको छ।.सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरवारस्थित कार्यकक्षमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुने तय भएको छ ।
बैशाख १५ गते प्रतिनिधिसभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक शुरु भएको थियो । तर, सभापति चयन हुन नसक्दा समितिहरुले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलहरुले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाउनुभएको हो ।




















