पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं। सिराह जिल्लाको मिर्चैयास्थित पोखरीमा डुबेर तीन जना भारतीय बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार आइतबार साँझ पोखरीमा डुबेर मृत्यु हुनेहरुमा २ जना दाजु–भाइ रहेका छन् ।

मृत्यु हुनेहरुमा मिर्चैया नगरपालिका–१ स्थित जेके इट्टा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ खरिन्चियाका खुर्सिद आलमका दुई छोरा १२ वर्षीय अली हसन र १० वर्षीय नवी हसन रहेका छन् । अर्का मृतक भने जोगवनी निरगञ्जका नन्दलाल दासका १० वर्षीय छोरा नितेश रहेका छन् ।

प्रहरीका अनुसार इट्टा उद्योग नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका अवस्थामा छोराहरूलाई देखेपछि खुर्सिदले तीनै जनालाई तत्काल निकालेका थिए । त्यतिखेर अली र नवीको घटनास्थलमै मृत्यु भइसकेको थियो । अर्का बालक नितेशको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

मृतक तीनै जना बालकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।