गण्डकीमा खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । गण्डकी प्रदेशले सोमबार नयाँ मुख्यमन्त्री पाउने भएको छ । आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।
गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।

गण्डकीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबण्डा गरिँदा वाग्मती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।

सोहीअनुसार गण्डकीको मुख्यमन्त्रीका लागि अधिकारीले दाबी पेस गर्नेछन् । उनीहरूले बहुमत पुर्‍याएर दाबी पेस गरेमा प्रदेश प्रमुखले आजै मुख्यमन्त्री पदमा नियुक्त गर्न सक्ने छन् । हिजो (आइतबार) मात्र प्रदेश नम्बर–१ मा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । आज उनले मन्त्रिपरिषद विस्तारको तयारी गरिरहेका छन् ।