चुनावमा कसैको बहुमत नआउनु दुर्भाग्यपूर्ण भएको छः विष्णु पौडेल

काठमाडौंं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनबाट कसैको बहुमत नआउनु देशका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

कुनै दलको बहुमत नआउँदा मुलुक अस्थिरताको चक्रव्युहमा फस्ने खतरा रहेको पौडेलले बताए । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पत्रकार सम्मेलन गर्दै पौडेलले नेकपा एमालेले सरकारको नेतृत्व नगर्दासम्म देशले सही निकास नपाउने दाबीसमेत गरे।

‘राजनीतिक स्थायित्व,विकास र समृद्धिका एजेण्डा लिएर एमाले चुनावमा गएको हो, एजेण्डाका हिसाबले एमालेले बहुमत पाउनुपर्ने हो तर पाएन,’ पौडेलले भने, ‘हामी जनादेशको सम्मान गर्छौं, बहुमत नआए पनि एमाले प्यासिभ भएर बस्दैन सशक्त भूमिका खेल्छ, एमालेले लिड रोल नगर्दासम्म देश अघि बढ्न सक्दैन, विकासले गति लिन सक्दैन।’उनले भने।

पौडेलले मतदाताको सुझावलाई आत्मसाथ गरेर असल जनप्रतिनिधिको भूमिका निभाउने प्रतिबद्धता जनाए । पौडेलले चुनावका बेला अस्वस्थ प्रतिस्पर्धा, आरोप प्रत्यारोप भन्दा माथि उठेर आफ्ना एजेण्डा प्रस्तुत गरेर आफूले स्वस्थ प्रतिस्पर्धा गर्ने संस्कारको सुरुआत गरेको बताए।