काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले प्रतिगमनलाई पराजित गर्दै जनताको लोकप्रिय पार्टीका रूपमा आफूलाई उभ्याउन सफल भएको बताएका छन्।
शनिवार प्युठान–काठमाडौँ सम्पर्क मञ्चद्वारा राजधानीमा आयोजित कार्यक्रममा ओलीले निर्वाचनअघि एमालेविरुद्ध प्रतिगमनको हल्ला चलाइएकोमा पार्टीले त्यसलाई चिर्न सफल भएको बताए । ओलीले विभिन्न ठाउँमा बुथ कब्जा हुँदा पनि निर्वाचन आयोग मूकदर्शक मात्र बनेको आरोपसमेत लगाए ।
तर निर्वाचनपछि एमालेले प्रतिगामी तत्त्वहरूसँगै प्रतिक्रियावादीको साँठगाँठ र अरूका इसारामा चल्ने शक्तिलाई पराजित गरेको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले एमालेलाई सेटिङमा पार्टी फुटाएर सिध्याउँछु भन्ने षड्यन्त्र भए पनि त्यो विफल भएको दाबी गरे । अदालतले पार्टी फुटाउन आदेश नदिएको नयाँ पार्टी दर्ता गर मात्र भनेको उनको भनाइ थियो । पार्टी फुटाउने उद्देश्य लिएकाहरूले नयाँ दल दर्ता गर्न नमानेको ओलीको दाबी थियो ।
आफ्नै पार्टी अध्यक्ष, दलको नेता र प्रधानमन्त्रीविरूद्ध ल्याइएको १९ पृष्ठ लामो अभियोग पत्रबाट पार्टी विभाजनको षडयन्त्रको खेल सुरु गरिएको उनको भनाई थियो ।
























