भोलिदेखि सुरु हुने खिचरा महोत्सव उद्घाटन गर्न गृहमन्त्री लामिछानेले जाने

काठमाडौं । भोलि (बिहीबार) देखि आठौं संस्करणको खिचरा महोत्सव–२०७९ शुरु हुँदैछ । महोत्सवको उदघाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्दैछन् । खिचरा महोत्सव आयोजक समितिका अनुसार पुस २८ गते गृहमन्त्री आउने भएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बुधबार अपरान्ह महोत्सवस्थलको निरीक्षण गरेका छन् ।

खैरहनी नगरपालिका –५, जबकौलीस्थित गौचरनमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । उदघाटनका दिन मंगनीचोकदेखि महोत्सव स्थलसम्म बृहत झाँकीसहितको शोभायात्रा निकालिने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए ।

महोत्सवमा जिल्लास्तरीय भलिबल प्रतियोगिता, डान्सि आइडल, चित्रकला प्रतियोगिता, कृषि उपज प्रतियोगिता, पेहनी होड, रक्तदान कार्यक्रम, आँखा शिबिर, क्यान्सर स्क्रिनिङ कार्यक्रमका साथै दैनिक विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइने आयोजकको भनाइ छ । साथै महोत्सवमा थारु पहिचान झल्किने खाना, भेषभुषा तथा नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा मनोरञ्जनात्मक कार्यक्रमहरुमा स्थानीय तथा राष्ट्रियस्तरका गायक कलाकारबाट विविध साँस्कृतिक कार्यत्रक्रम, बाल उद्यानहरु समेत रहनुका साथै विभिन्न खानाका परिकार र व्यापारिक स्टलहरु रहने चौधरीले बताए ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं। ७, चितवनले आयोजना गरेको आठौं खिचरा महोत्सवको खैरहनी नगरपालिका र थारु कल्याणकारिणी सभा चितवन संरक्षक र खैरहनी चेम्बर अफ कमर्शले सहआयोजकको भूमिका निर्वाह गरेको महोत्सवका प्रवक्ता नारायणप्रसाद महतोले जानकारी गराए । महोत्सव पुस २८ देखि माघ ४ गतेसम्म चल्नेछ ।