रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न राष्ट्रिय जनमोर्चाले माग गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन्।
‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ । त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
जनमोर्चाले ‘टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटना’ रहेको उल्लेख गरेको छ। ‘त्यो घटनाका मुख्य नाइकेलाई गणतन्त्र दिवसको उपलक्ष्यमा आममाफी दिई कैद मिनाहा गराउन सरकारले अगाडि बढाएको प्रक्रिया आफ्नो सरकार टिकाउन गरिएको राजनीतिक लेनदेन वा सौदाबाजी मात्र हो।’ उनले भनेका छन्।
नागरिक उन्मुक्ति पार्टीका सल्लाहकार रहेका चौधरीलाई सर्वोच्च अदालतले केही समयअघि सर्वस्वसहितको जन्मकैद फैसला गरेको थियो।
























