काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिगमन कायम रहेसम्म वाम–लोकतान्त्रिक गठबन्धन कायम रहने दाबी गरेका छन् ।
गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति सम्झौताको मुख्य सम्झौताकर्ता कांग्रेस र माओवादी नै भएकाले अब शान्ति, संविधानको रक्षा र आर्थिक क्रान्तिका लागि पनि अहिलेको गठबन्धन नै प्रमुख आवश्यकता रहेको बताए ।
“जबसम्म शान्ति र संविधान खतरामा पर्छ त्यति बेलासम्म यो गठबन्धन कायम हुन्छ”, उनले भने, “पाँच वर्ष मात्र होइन, १५ वर्षसम्म पनि गठबन्धन कायम रहन सक्छ।”
उहाँले कांग्रेस र माओवादी मिलेर देशमा शान्ति र संविधान सम्भव भएको भन्दै अब आर्थिक क्रान्ति पनि माओवादी र कांग्रेसकै नेतृत्वमा बनेको गठबन्धनले गर्ने बताए।
“१० वर्षे जनयुद्ध लम्बिदै जाँदा दुबै पक्षको हारजितको अवस्था हुने स्थिती थिएन,” उनले भने, “बृहत शान्ति सम्झौता नगरेको भए देशको सार्वभौमसत्ताखतरामा पर्ने थियो त्यसलाई बुझेर कांग्रेस र माओवादी मिलेर शान्ती सम्झौता गरेका हौँ ।”
उहाँले शान्ति सम्झौता नगरेको भए देशमा हजारौं मानिसको ज्यान जानसक्ने र विदेशी सेना प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौताले देश अहिलेको अवस्थामा आइपुगेको दाबी गरे।
गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकीय क्षेत्र, औद्योगिक क्षेत्रका रुपमा विकास गर्न सकिने भन्दै गोरखाबाटआर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गरे।




















