संघीयताको सफल कार्यान्वयनका लागि एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्। आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।

उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अव नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।

प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो।

उनले भ्रष्टाचार शून्य नीति लिएर अघि बढन पनि स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे।

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिवी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरुको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्न सक्ने गरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने पनि बताए।

उनले दिगो विकास लक्ष्यअनुरुप अघि बढनगरी योजना तर्जुमा गर्न स्थानीय तहले प्राथमिकता दिनुपर्ने बताए। प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘दिगो विकास लक्ष्य अनुरुप योजना तर्जुमालाई प्राथमिकतामा लिएर लक्ष्यप्राप्ती तर्फ उन्मुख भएर देशको शिक्षित युवा जनशक्तिलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक छलफल हुन आवश्यक छ।

अपार प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोग गर्ने कुरामा स्थानीय सरकारको भूमिका बढाउँदै मुलुकमा व्याप्त गरिबी, बेरोजगारी अन्त्य, लैगिक हिंसा, छाउपढी, दाईजो, जातीय छुवाछुत तथा बाल विवाह लगायतका सामाजिक कूरीति अन्त्य गर्न स्थानीय तहदेखि नै गर्न आर्थिक विकासलाई प्रवर्द्धन तथा सामाजिक सचेतना जागरण अभियानको रुपमा संचालन गर्न स्थानीय तहले आगामी दिनमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने गरी स्थानीय तहको क्षमता विकास गर्न जरुरी छ।

यस कार्यमा गाउँपालिका राष्ट्रिय महासंघले आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक छ। स्थानीय निकायले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचार शून्य नीति लिएर अघि बढन म विशेष अनुरोध गर्दछु।’

त्यस अवसरमा प्रधानमन्त्री देउवाले स्थानीय तहको प्रतिष्ठालाई अघि बढाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने काम गरिरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासंघ नेपाललाई धन्यवादसमेत व्यक्त गरे।