निगममा तनाव भयो कांग्रेसको प्रवेश

काठमाडौं। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित वार्ता चलिरहेका बेला कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरु प्रवेश गरेपछि निगममा तनाव उत्पन्न भएको छ ।

नेपाल वायुसेवा क्याबिन क्रु संघ र कांग्रेस निकट ट्रेड युनियनका पदाधिकारीहरुबीच निगमको मानव संशाधन विभागमा भइरहेको वार्तामा जानकारी बिना प्रवेश गरेका ट्रेड युनियनकर्मी र संघबीच हात हालाहाल भएको संघकी एक पदाधिकारीले बताइन् ।

वार्तास्थलमा तनाव उत्पन्न भएपछि न्युरोडमा रहेको जनसेवा प्रहरी वृत्तका प्रमुख डिएसपी शालिग्राम शर्मासहितको प्रहरी टोली निगममा पुगेको छ । डिएसपी शर्माले क्याबिन क्रु जाइलागेको अभियोगमा दुई जना ट्रेड युनियनका नेतालाई नियन्त्रणमा लिएको बताए ।

निगममा अहिले वार्ता बिथोलिएको छ । संघले ट्रेड युनियनका नेताले पुरुष परिचारकलाई हातपात गरेको, कागजात खोसेको, अश्लिल गालीगलौज गरेको भनेका छन् । घाइते भएकी परिचारिका पूजा सहनीले पुरुष कर्मचारीले हातपात गर्दा आफ्नो बायाँ कानबाट रगताम्य भएको बताइन् ।

प्रहरीले ट्रेड युनियनकर्मीलाई नियन्त्रण लिएर प्रहरी भ्यानमा राखेपछि निगमका कर्मचारीले दुवै गेटमा ताला लगाइदिएको डिएसपी शर्माले बताए । निगमका एक निर्देशकले वार्ता बिथोलिएको जानकारी दिएका छन् । ‘ठूलोठूलो स्वरमा होहल्ला भयो । प्रहरी आइपुगेको छ । यर्थाथ बुझ्दै छौं,’ निगमका एक निर्देशकले भने ।