रेशम चौधरीले कारागारमै बोलाए नागरिक उन्मुक्तिको बैठक

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् ।

चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् ।

आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो ।

उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ।

पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार गइरहेको पुष्टि गरेका छन् । ‘हाम्रो पार्टीको संस्थापक एवंम् अभिभावक उहाँ (रेशम चौधरी) ले कारागार बोलाउनुभएको छ । हामी छलफलका लागि जादैछौँ । उहाँको निर्देशनअनुसार सरकारमा सहभागी हुने विषयमा अघि बढ्छौं,’ पण्डितले भने, ‘अहिलेकै समीकरणमा संघ र प्रदेशमा कसरी जाने भन्ने कुरा दिउँसोसम्म थाहा हुन्छ ।’

रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरुको रिहाइको मुद्दालाई प्रमुख एजेन्डा बनाएको उन्मुक्ति पार्टीले पहिलेदेखि सरकारसँग मुख्य तीन माग राख्दै आएको छ ।