प्रधानमन्त्री प्रचण्डले पुस महिनाभित्रै विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही महिनाभित्र विश्वासको मत लिने भएका छन् । २५ गतेका लागि संसद्को अधिवेशन आह्वान भइसकेको छ । सरकार बनेको ३० दिनभित्र विश्वकासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

संसद अधिवेशनको पहिलो दिन पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने र शुभकामना आदानप्रदान गर्ने अभ्यास छ । त्यस लगत्तै विश्वासको मत लिने तयारी रहेको प्रधानमन्त्री निकटका नेताहरु बताउँछन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने मितिका विषयमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा छलफल भएको थियो । छलफलमा स्वयम प्रचण्डले आफूले यही महिनाभित्र (पुस २९ गते) प्रधानमन्त्रीले विश्वासको मत लिने चाहना रहेको बताएका थिए । प्रचण्डको चाहनामा सत्ता साझेदार दलहरु सकारात्मक रहेको नेताहरु बताउँछन् ।

प्रचण्डले सरकारको भागबण्डा पूरा नभइसके पनि विश्वासको मत लिने तयारी गरेका हुन् । अहिले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी सरकारमा सामेल छन् । सरकार बनाउँदा सात पार्टीले सरकारलाई समर्थन गरेका छन् । तर अहिले नै सबै पार्टी सरकारमा सामेल भएका छैनन् ।

एमाले, माओवादी, रास्वपा र जनमत पार्टी सरकारमा सहभागी भइसकेको छ । बाँकी, राप्रपा, नाउपालाई सरकारमा सहभागी गराउने प्रयास एमाले र माओवादीले गरिरहेका छन् । साथसाथै, नेकपा एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउने प्रयास उनीहरुको छ ।

सरकारमा ८ दललाई सहभागी गराउने आधार तयार गरेर विश्वासको मत लिने र लगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रचण्डको तयारी छ ।

यो सरकारलाई समर्थन गरे पनि राप्रपा, नागरिक उन्मुक्ति र जसपा सरकारमा सामेल भएको छैनन् । गठबन्धनमा धेरै दलहरू सामेल भएकाले पनि यो सरकारले छिटो विश्वासको मत लिनुपर्ने छ ।