जनताको विश्वास जितेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् ।

नेकपा (माओवादी केन्द्र)  कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा लिएर सकारात्मक काम गर्नु नै सरकारको प्रमुख कर्तव्य भएको बताएको हो ।

प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी रहेको भन्दै दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर भए पनि राम्रो गर्न हो । दाहालले आफूले गरेको राम्रो कामको प्रचार हुन नसकेको भन्दै मध्यपहाडी लोकमार्गदेखि उत्तर–दक्षिण करिडोर आफू पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरिएको भएपनि ती माओवादीले गरेका परियोजना भनेर स्थापित गर्न नसकिएको स्रोतले जनाएको छ ।

अहिलेको परिवर्तनका लागि मुख्य भूमिका खेलेको र उज्यालो नेपालजस्ता विकास कार्यक्रममा माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको उनको भनाइ थियो ।

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र समाजवादी फोरम बनाउने चर्चा चलिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । कर्णाली प्रदेशमा आफ्नो पार्टी सबैभन्दा अगाडि रहेकामा खुसी व्यक्त गर्नुहुँदै सो क्षेत्रको विकासका लागि वर्तमान सरकारको ध्यान रहेको बताए ।