जिम्मेवारी नतोकिँदा बेराेजगार बने ४ मन्त्री

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएको एक साता भएको छ । उनीसहित सात मन्त्रीले शपथ लिएको ६ दिन बितिसक्यो ।

३ उपप्रधानमन्त्रीले जिम्मेवारी पाए पनि ४ मन्त्रीलाई अहिलेसम्म कुनै जिम्मेवारी दिइएको छैन । मन्त्रिपरिषद्‍ले कहिले पूर्णता पाउने हो टुंगो छैन‍ । नियुक्त भए‌कै मन्त्रीले पनि काम नपाउँदा मन्त्रालयहरूले दैनिकरुपमा सम्पादन गर्नुपर्ने कयौं काम अलपत्र छन् ।

दाहाल नेतृत्वको सरकारमा सहभागी चार मन्त्रीलाई जिम्मेवारी नदिँदा बेराजगार बनेका छन् । प्रधानमन्त्रीको कार्यालय र संसदीय दलको कार्यालय जाने र सरकारी निवास बस्नेबाहेक उनीहरूको काम छैन ।

जिम्मेवारी नतोकिएका मन्त्री राजेन्द्रकुमार राई भन्छन्, ‘साथीहरूसँग छलफल गर्नै मौका मिलेको छ । धेरै साथी जिल्लाबाट पनि आएका छन् । काठमाडौं रहेका साथी पनि आउने छलफल गर्ने काम भइरहेको छ ।’

त्यस्तै अर्का मन्त्री दामोदर भण्डारी पनि भेटघाटमै व्यस्त रहेको बताउँछन् । उनी भन्छन्, ‘हिजो मन्त्री क्वाटर सरिएको छ । छलफल भेटघाट र सुझाव, राय लिने काम भइरहेको छ ।’

मन्त्रालयको जिम्मेवारी नपाउँदा मन्त्रीहरु स्यमं खुसी छैनन् । काम गर्ने मौका दिए युद्ध स्तरमा काम गर्छु भन्ने हुटहुटी बोकेका मन्त्री पनि बेराजगार जस्ता देखिएका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान भन्छन्, ‘अलिकति हतारमा भएको हुनाले जिम्मेवारी नपाइएको होला जस्तो लागेको छ । सर्वदलीय बैठकले निर्णय गर्ने भएकाले अहिले जिम्मेवारी तोक्ने काम भएको छैन ।’

मन्त्रालयमा मन्त्री नहुँदा अनगिन्ती काम रोकिएको छ । कहिले मन्त्री नियुक्त हुन्छन् टुंगो छैन । तत्कालीन शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न तीन महिना लगाएका थिए । यसपालि पनि यही कुरा त दोहोरिने होइन ?