काठमाडौं । देशको राजधानीसमेत रहेको बागमती प्रदेशमा पहिलो कार्यकाल अढाई वर्ष नेकपा (माओवादी केन्द्र)का शालिकराम जमरकट्टेल मुख्यमन्त्री बन्ने भएका छन् । आइतबार सत्ता गठबन्धनको बैठकबाट बागमती प्रदेशको नेतृत्व माओवादीले पाउने सहमति भएसँगै माओवादीबाट प्रदेश संसदीय दलको नेता रहेका जमरकट्टेललाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बागमतीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति अनुसार जम्मकट्टेल प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दाबी छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ गठबन्धनमा रहेको एमालेसँग २७ सांसद रहेका छन् माओवादी केन्द्रसँग २१ र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १३ जना सांसद रहेका रहेका छन् । गठबन्धनमा रहेका यी दलहरुका सांसदहरुको संख्या जोड्दा ६१ पुग्छ ।
यस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् भने हालसम्म गठबनधनमा नखुलेको नेकपा (एकिकृत समाजवादी)का ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।



















