काठमाडौं । ।राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु भएको छ।
लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरेका हुन्। कर्मचारी मिलन केन्द्र घोराहीमा बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।
सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। एमालेबाट उम्मेदवार बनेको रोल्पाका कुमार दसौदी र कांग्रेसबाट पनि रोल्पाका माधवप्रसाद आचार्य उम्मेदवार बनेका छन्।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय पनि उम्मेदवार बनेका छन्। उपचिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखको १८ हुन्छ।
प्रदेशमा कुल मतदाता संख्या ३०५ जना छन्, जसमध्ये प्रदेश सांसदको संख्या ८७ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।
प्रदेशमा १०९ स्थानीय तह छन्। तीमध्ये कांग्रेसले ४८ स्थानीय तहमा जितेको छ। एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २र२ तथा राप्रपा र जनता प्रगतिशीलले १र१ स्थानमा जितेका छन्।
८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४र४, जसपा, लोसपा र जनमतले ३÷३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १र१ सिट जितेका छन्। त्यस्तै स्वतन्त्रबाट २ जनाले जितेका छन्।
नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रूपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको हो।



















