स्ववियु चुनावका लागि प्रक्रिया सुरू,संगठन दर्ता गर्ने आज अन्तिम दिन

काठमाडौ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि प्रक्रिया सुरू भएको छ। त्रिभुवन विश्वविद्यालयमा हुने निवाचनका लागि विद्यार्थी संगठनहरूले आज संगठन दर्ता गर्ने समय दिइएको हो।

त्रिविका अनुसार शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले शुक्रबार दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र स्ववियु चुनावमा भाग लिन पाउने बताए।

विद्यार्थी सङ्गठनले फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउनुपर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुनेछ। स्ववियु चुनावका लागि चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान समय तोकिएको छ।