दुई करोड मागिएको अडियोबारे छानबिन हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका छन् ।

अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यही अनुसार अघि बढ्ने उनको भनाइ छ ।

आज चितवनमा पत्रकारहरुको प्रश्नमा श्रेष्ठले भने, ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताए ।