काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आम नागरिकलाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजल तथा हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण त्यहीअनुसार मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीद्वारा निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ ।
चौतर्फीरूपमा मूल्य घटाउन निगमलाई दबाब परे पनि १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको स्रोतले जनाएको छ ।



















