प्रधानमन्त्रीको निर्देशनमा जेनेभा भ्रमण रोकियोः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेलले राष्ट्रियसभा बोल्दै आफ्नो जेनेभा भ्रमण रोकिएको बताएकी छिन् । प्रधानमन्त्रीको निर्देशनमा भ्रमण रोकिएकोबारे संसद्लाई जानकारी गराएकी हुन् ।

राष्ट्रियसभामा विशेष सम्बोधन गर्दै मन्त्री पौडेलले राजनीतिक कारणले आफ्नो भ्रमण रोकिएको र त्यसले अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो खालको असर पर्ने भन्ने समयले बताउने बताइन् ।

मन्त्री पौड्याल १५ देखि १८ फागुनसम्म जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद् बैठकमा भाग लिन आइतबार साँझ त्यसतर्फ जाने तयारीमा थिइन् । तर, दिउँसो मुख्यसचिवमार्फत प्रधानमन्त्रीले ‘जेनेभा नजाने ’ खबर पठाएको पौड्यालले बताइन् ।

सुरू हुने सभामा भोलि नेपालको प्रस्तुति रहनेछ । त्यसमा भाग लिन जानुपर्छ भनेर ४ फागुन २०७९ मा परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । सोही दिन जान दिने निर्णय गरेको थियो । मन्त्री पौडेलका अनुसार ४ सदस्यीय टोली जान खोजेकोमा प्रधानमन्त्रीको निर्देशनमा विज्ञको रूपमा पूर्व कानूनमन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई पनि समावेश गरिएको थियो । र त्यसपछि ४ जनाको ठाउँमा ५ जान जाने निर्णय भएको थियो ।