काठमाडौं । २६ फागुन चालू आर्थिक वर्षको ६ महिनामा उपत्यकामा मात्रै २३ अर्ब लगानी प्रतिबद्धता आएको छ । देशभर दर्ता भएका उद्योगमध्ये ठूलो हिस्सा ओगटेको उपत्यकाका ३ जिल्लामा मात्र ६ महिनाको अवधिमा २३ अर्ब ६ करोड ९७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।
चालू आर्थिक वर्षको ६ महिनामा स्वदेशी तथा विदेशी लगानीका गरी १४५ वटा उद्योग दर्ता भएका छन् । दर्ता भएकामध्ये ३९ वटा ठूला, ४१ वटा मध्यम र ६५ वटा साना उद्योग छन् । ती उद्योगले १ खर्ब ३९ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएको उद्योग विभागले जनाएको छ ।
विभागका अनुसार दर्ता भएका उद्योगबाट ९ हजार ८१६ जनाले रोजगारी पाउनेछन् । दर्ता भएका १४५ मध्ये ४७ वटा उद्योग उपत्यकामा मात्रै छन्, जुन ३२ प्रतिशत हिस्सा हो ।
शिक्षा, रोजगारी, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा सुविधासम्पन्न मानिएको उपत्यका देशभरका मानिसको आकर्षणको केन्द्र बनेको छ । स्वास्थ्य, शिक्षा र रोजगारीसँगै उद्योग सञ्चालन गर्ने क्षेत्रमा पनि बढी उपत्यका अगाडि देखिएको हो ।
समीक्षा अवधिमा उपत्यकामा ४७ वटा उद्योग दर्ता हुँदा काठमाडौंमा ३५ वटा, ललितपुरमा १० वटा र २ वटा भक्तपुरमा दर्ता भएका छन् । दर्ता भएका उद्योगमध्ये १८ वटा सेवा क्षेत्रका छन् भने पर्यटन क्षेत्रका १३, उत्पादन क्षेत्रका ८, आईसीटी क्षेत्रका ५ र ऊर्जा क्षेत्रका २ वटा उद्योग छन् ।
अधिकांश वैदेशिक लगानीका उद्योग छन् । ४७ वटा उद्योगमध्ये ३२ वटा विदेशी लगानीका छन् भने १५ वटा मात्रै स्वदेशी लगानीका छन् ।


















