छाउगोठको दलदलमा पर्न बाध्य महिलाः सुदूरपश्चिममा छाउ, नेवार समुदाय गुफा राख्ने चलन

काठमाडौं । गत जेठमा अछामको तुर्माखाँद गाउँपालिकामा १८ वर्ष उमेरकी एक युवतीको छाऊगोठमा सुतिरहेको बेलामा सर्पले डसेर निधन भयो । एक महिनाको अन्तरालमा सुर्खेतमा अर्की एक युवतीको छाऊगोठमा सुतिरहेको अवस्थामा सामुहिक बलात्कार भयो । यस्ता कतिपय समाचारहरु प्रकाशमा आउँछन् कतिपय आउँदैन फरक यतिमात्र हो छाऊपडीको धङधङी कम भएको छैन । युवतीहरु महिनावारी भएको बेलामा घरभन्दा अलग्यै खुला छानोमुनी रात कटाउनुपर्ने बाध्यताका कारण कहिले विशालु जानवर त कहिले विशालु जनावररुपी मान्छेको डसाइबाट यातना सहन र मृत्युबरण गर्न बाध्य भइरहेका छन ।

नेपालको खासगरी सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुराका ग्रामीण क्षेत्रमा महिलाहरूले रजस्वला र सुत्केरी भएका बेला घरका कुनै पनि सरसामान छुनु हुँदैन भन्ने अन्धविश्वास अहिलेसम्म पनि कायम छ। यस्तो बेलामा सुत्केरी वा रजस्वला भएकी नारीलाई घरभन्दा केहीपर बनाइएको झुपडीमा बस्न लगाइन्छ, जुन गोठलाई ‘छाउपडी’ गोठ भनिन्छ ।

छुई अथवा छाउपडी, महिला सुत्केरी भएको अथवा महिनावारीमा उनीहरूलाई कसैले छुन नहुने र घर परिवारदेखि बेग्लिएर बस्नुपर्ने परम्परा हो । यो प्राचीनकालदेखि नै चलिआएको परम्परा हो । मुलुकका अन्य जिल्लाका अतिरिक्त मध्य तथा सुदूरपश्चिम पश्चिम नेपालका विकट पहाडी जिल्ला जुम्ला, कालिकोट, दैलेख, डोल्पा, बझाङ, अछाम र बाजुरा लगायतका दुई दर्जनभन्दा बढी जिल्लामा यो प्रथा यद्यपी कायमै छ । सुदूरपश्चिमी भेगमा चर्चा भए पनि यो प्रथा देशैभरी प्रत्यक्ष र परोक्ष रुपमा कायमै छ ।

राजधानी शहर होस् या अन्य शहरी भेगका साथै ग्रामीण भेगमा यो प्रथा कायमै छ। भलै शहरमा अलग्यै कुटी बनाएर राखिदैन फरक यतिमात्र हो। महिलाहरुको वर्षभरीको पाप पखाल्ने नाममा हरेक वर्ष सरकारले ऋषिपन्चमीको दिन विदा नै दिने गरेको थियो जुन विदा वर्तमान सरकारले कटौती गरेको छ । राजधानी लगायतका नेवार समुदायका छोरीहरू पहिलोपटक महिनावारी हुँदा गुफा राख्ने चलन छ के यो छाउपढीको नमुना होइन र?

शहरी भेगमा छोरीहरू पहिलोचोटी महिनावारी हुँदा २२ दिनसम्म भान्सामा पस्न दिइदैन, पुरूष सदस्यको मुख हेर्न हुँदैन भनेर आफन्तको घरमा लगेर राख्ने गरिन्छ के यो छाउपढी होइन र?

दुर्गमको विकृति, अन्धविश्वास, कुसंस्कार हुने शहर वा सुगम भेगको असल संस्कार हुन्छ? यस्ता विषयमा खै त बहसपैरवी? गुफा बस्ने, छाउपढी गोठमा बस्ने र आफन्तको घरमा गएर बस्नेको बिचमा के फरक छ? पात्र जहाँ जे जस्ता भए पनि सारतत्व एउटै हो महिनावारी मासिक चक्र होइन यो पाप नै हो भन्ने बुझाइ छ देशैभरी अनि सुदूरपश्चिमको मात्रै आलोचना गरेर यो प्रथा हट्दैन।

छाऊपडी गोठमा बस्नको लागि सबैभन्दा पहिले युवतीलाई कस्ले बाध्य पार्छ? पक्कै पनि उसकी आमाले, हजुरआमाले वा भाउजु, माइजुहरू जो आफुभन्दा ठूला महिला छन् उनीहरूले नै हो। घरकी आमा हजुर आमाले अडान लिएर मेरी छोरी , नातिनी वा बुहारीहरू महिनावारी भएको बेलामा अलग्यै गोठमा बस्न जाँदैनन्, घरको एउटा कोठामा बस्छन् भन्न सक्ने हो भने कुनै पनि पुरुषले जर्वजस्ती लखेटेर आफ्ना छोरी, बुहारीलाई गोठमा बस्न पठाउँदैनन्। हुन त हामी सधैभरी पुरूषका कारण यस्तो भयो उस्तो भयो भन्छौँ तर आफ्नो कमीकमजोरी औँल्याउने प्रयत्न गर्दैनौँ।

महिनावारी प्राकृतिक चक्र हो भन्ने कुरा थाहा नभएका मानिस त सायद कोही छैनन् होला तर पनि यो विषय किन यति पाप र धर्मसँग जोडिन्छ? वर्षेनी कलिला छोरीहरू यही पापबाट चोखिन गोठमा सुतेको सुत्यै हुन्छन्? कयौँ चेलीहरु पापबाट मुक्ति पाउन गोठमा बसेको बेलामा बलात्कारको शिकार हुन्छन्? यो पाप धर्मको विषय भन्दा पनि धेरै हाम्रो मानसिकताको द्योतक हो।

राजधानीमै छोरीहरु महिनावारी भएको बेलामा अलग्यै शौचालय प्रयोग गर्ने गरेको, अलग्यै कोठामा बसाएको, पूजाकोठा र भान्सामा पाँच दिन नभइकन पस्न नदिएको दृष्टान्तहरु जगजाहेर हुँदाहुँदै सधैभरी सुदूरपश्चिमको कुरामात्रै उचालेर यो प्रथा निमिट्यान्न हुँदैन।सुदूरपश्चिमी भेगमा मात्रै होइन नेपालका हरेकजसो घरघरमा यो प्रथा जिउँकातिऊँ छ कही बढी देखिन्छ कही कम मात्रामा फरक यतिमात्र हो।

मान्छेको धार्मिक आस्था र विश्वास भत्काउन सकिदैन तर धर्मको नाममा कथित विश्वास र आस्थाको नाममा आफ्ना कलिला छोरी चेलीको जिन्दगी सकाउने गरी बनाइएका कुप्रथाहरुको जरो उखेल्नैपर्छ। दाजुभाइ बुबा, अंकलले घरका महिला सदस्यलाई छोइछिटो गर्ने होइन सहयोग गरौं। यस्ता सकारात्मक कुराहरुको सञ्चार हुने हो भने भोलिका दिनमा सर्पले डसेर, विच्छीले डसेर, बाघ भालुको शिकार भएर, वा आपराधिक मानसिकता बोकेका पुरुषको डसाइबाट कोही पनि छोरी बुहारीहरु अनाहकमा ज्यान गुमाउने छैनन्।

छाउपडी प्रथाजस्तो भेदभावपूर्ण व्यवहारका विरूद्घ सम्मानित सर्वोच्च अदालतले नेपाल सरकारका नाममा २०६२ साल वैशाख १९ गते छाउपडी प्रथालाई कुरीति घोषणा गरि यो प्रथा अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश जारी गरिसकेको छ। सरकारले पनि यो कुप्रथाको विरोध गरेको छ, जर्वजस्ती छाउगोठमा बस्न बाध्य पार्ने उपर कारबाही गर्ने भनिएको छ तर कुनै पनि छोरीहरू आफ्ना परिवारका सदस्य उपर कारवाही गर्दैनन् बरू छाऊगोठमै प्राण त्याग्छन् ।