कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स एनसिसी बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ ।
दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।

मंसिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।

यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बनेका छन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

सञ्चालक समिति गठनमा मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । आज एकीकृत कारोबार सुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहेका छन् । एनसिसी बैंकका सञ्चालकमा पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेका छन् ।