राष्ट्र बैंकको रिपोर्टः यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठ)

काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक स्थिति तथा वित्तीय अवस्थाबारेको तथ्यांक सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले चालु आर्थिक वर्षको सात महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आबको माघ महिनासम्मको रिर्पोट अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचाकाङ्कमा आधारित मुद्रास्फीति ७ दशमलव ८८ प्रतिशत रहेको छ ।

उक्त तथ्यांकअनुसार यस अवधिसम्ममा आयात १९ दशमलव ९ प्रतिशतले, निर्यात २९।० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घटेको छ । यसैगरी, विप्रषण आप्रवहा नेपाली रुपैयाँमा २७ दशमलव १ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ४ प्रतिशतले बढेको छ । शोधान्तर स्थिति भने १ खर्ब ३३ अर्ब रुपैयाँले बचतमा रहेको छ ।

चालु आवको सात महिनासम्म कुल विदेशी विनिमय सञ्चिति १३ खर्ब ८३ अर्ब रुपैयाँ र अमेरिकी डलरमा १० अर्ब ५० करोड रहेको छ । यसका साथै, यस अवधिमा संघीय सरकारको खर्च ६ खर्ब ६७ अर्ब रुपैयाँ र राजश्व परिचालन पाँच खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।

त्यस्तै, यस अवधिमा विस्तृत मुद्राप्रदाय ४ दशमलव ७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८ दशमलव ८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५।० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव २ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १० दशमलव ५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ दशमलव ९ प्रतिशत रहेको छ ।